Breaking News
Home / मनोरन्जन / तीजका सदाबहार गीत: जुन सधैका तीजमा घन्किन्छन्

तीजका सदाबहार गीत: जुन सधैका तीजमा घन्किन्छन्

हिन्दु नारीहरुको महान पर्व तीज भन्ने बित्तिकै आफ्नो जन्म घर अर्थात माईतीघरमा गएर मिठा–मिठा परिकार खाएर नाचगान गरेर रमाईलो गर्ने भन्ने बुझिन्छ । तीज पर्वलाई नै लक्षित गरेर कलाकारहरुले गीतसंगीतका विभिन्न एल्वम बजारमा ल्याउने परम्परा पनि नौलो होइन ।

तर पछिल्लो समय गीतसंगीतका नाममा आएको विकृतीले निकट भविष्यमा तीजका वास्तविक गीत कस्ता थिए भनेर नयाँ पिढिले थाह नै नपाउने अर्थात लोप नै हुने हो कि भन्ने शंका समेत उत्पन्न हुन थालेको छ । पछिल्लो समयमा तीजका गीतको नाममा व्यापक विकृती वढेपनि थोरै संख्यामा रहेका पुराना कलाकारहरुका कालजयी गीतहरुले अहिले पनि उतिकै तीजको सान्दर्भिकता र मौलिकता झल्काएको हुन्छ । जति नै नयाँ गीतहरु सार्बजनिक भएपनि पुराना कलाकारका ती कालजयी गीतहरु अहिले पनि उत्तिकै लोकप्रिय रहेका छन् ।

चेलीवेटीले पाएका सुखःदुख र वेदनाका पीडादायक गीतहरु घन्काउँदै तीजमा नाच्ने क्रम भने छुटेको छैन् । मुलतः तीजका कालजयी र तीजका भाकामा लय मिलाएर प्रस्तुत गर्ने पुराना कलाकार लोकगीत संगीतबाट विस्थापित भईदिदाँ र नयाँ पुस्ताका कलाकारले मौलिकता बिर्सिदिदाँ विकृती वढेको हो । यसैगरी तीजका गीतमा विकृती वढ्नुको अर्को प्रमुख कारण भनेको उटपट्याङ खालका सिर्जनालाई दर्शक, श्रोताले रुचाइदिने र सर्जकहरु पनि त्यस्तै सिर्जनामा उत्प्रेरित हुनु पनि हो ।

मुलतः तीज गायिकाको रुपमा परिचित हरिदेवी कोइराला, विमा कुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ लगायतका थुप्रै गायिकाहरुका गीतहरु अहिले पनि उत्तिकै चर्चाको शिखरमा छन् । यसैगरी तीजका गीतमा मौलिकता पस्कने प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार, रेसम सापकोटा लगायतलाई पनि बिर्सन सकिन्न । पुरानी गायिका कोइरालाका तीज गीतहरुले चेली माईती जान नपाउँदा पीडा, सासु ससुराले गर्ने अभद्र व्यबहार र राम्रो व्यबहार, दिदी बहिनीको मित्रता तथा पीडा, श्रीमानको माया तथा पीडा लगायतका बिषयबस्तुलाई आफ्ना गीतमा पस्कने गर्छिन् ।

कोइरालाका सयौं तीज मध्ये ‘सुन्नुहोला दिदी बहिनी’, ‘लाली जोवन कलिले’, ‘सुनको टिकी लायर’, ‘पठाएनन् घरकाले फर्के फरर्कक’, ‘रातो सारी लायर’, ‘आमा तिम्रो दुधैको भारा’, ‘यो छोरीको जीवन बरिलैं’ लगायतका गीतहरु अहिले पनि उत्तिकै चर्चामा छन् । कोइरालाका यी तीज गीतहरु प्रायः सधैका तीजहरुमा घन्कने गर्दछन् । यसैगरी बरिष्ठ कलाकार नारायण रायमाझीले संकलन गरेको विमा कुमारी दुराको स्वरमा सजिएका भरर रानी चरी बोलको गीत अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको छ भने चर्चित संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको गायिका मञ्जु थापाले स्वर दिएको ‘तीजको रहर’ बोलको तीज गीतमा कम्मर नर्मकाउने महिला सायद कमै होलान् । जब जब तीज नजिकिन्छ दिदीबहिनीका विविध दर खाने कार्यक्रममा यो गीत बजेकै हुन्छ ।

अहिलेको जस्तो प्रविधिको बिकास नभएको क्रममा गाउँघरमा क्यासेट मार्फत तीजका गीत घन्काएर नाच्ने क्रममा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइरालाको ‘वेदनाको पोको’ बोलको एल्वमले त्यो समयमा मात्र होईन् अहिलेसम्म पनि उक्त गीतको लोकप्रियता कायमै छ । शर्मिला गुरुङ र राजु परियारको ‘तीज दाइ बिना’ बोलको गीत होस् ‘टाढाका चेली’ बोलको गायक परियार र गायिका विमा दुराको गीत पनि सधैको तीजमा बज्ने गर्दछ । लक्ष्मी न्यौपानेका ‘तीज आयो राजै’, ‘म त मसक्कै’, ‘जान्न म त नाइ’ लगायतका गीत अहिलेसम्म चर्चित रहे । यस्तै सुखी, सम्पन्न भएकी एक चेलीले आफ्नो माईतीलाई बिर्सेकी चेलीले आफ्नी आमा र भाईलाई कति सम्म हेला गर्छिन् भन्ने प्रस्तुत गर्न खोजिएको रमेश बि.जी.को शब्द रहेको पुरुषोत्तम न्यौपाने र विमा कुमारी दुराको स्वर रहेको गीत ‘तीज आयो दिदी लिन’ बोलको गीत पनि सधैका तीजमा घन्कने गर्दछ ।

तीजका गीतमा मौलिकता र तीज भाका प्रस्तुत गर्न सिपालु गायिका शर्मिला गुरुङका पनि धेरै कालजयी तीजगीतहरु लोकप्रिय छन् । उनका ‘फाटि सक्यो होला मैले बोक्ने डोको, आज मेरो माइत जाने पालो लगायतका तीज गीतलाई सदाबहार गीतका रुपमा लिन सकिन्छ । गायिकाहरु शर्मिला गुरुङ, शिला आले, शकुन्तला थापाले सामूहिक रुपमा सिर्जना गरेको ‘शिरमा लगाउने शिर फुल’ बोलको गीतले पनि सधैका तीजमा दर्शकको मन जित्ने गरेको छ । तीजका गीतमा लोकप्रिय अर्की गायिका हुन् सिन्धु मल्ल । उनले बद्रि पंगेनीसँग गाएको ‘माईतबाट फर्किनु भो’ र रामचन्द्र काफ्लेसँगको ‘रातो साडी’ र ‘मै राम्री भैछु रे’ लगायतका गीत पनि तीजमा बज्ने गीत हुन । गायिका बिष्णु माझीका ‘नाचम्ला छम छम’, ‘लाउदिन टिकी’, ‘पुतलीको भट्टी’ लगायतका गीतहरु पनि हालसम्म चर्चामै छन् ।

पुराना कलाकारका तीजका गीतहरु खाली चेलीको बेदना पस्कने मात्र चर्चित भएनन् । ठ्ट्यौली किसिमले घर परिवारको समस्यालाई जस्ताको तस्तै उर्तान खोजेका तीज गीतहरु पनि अहिलेसम्म पनि चर्चित छन् । रेसम सापकोटाको शब्द रहको देवी घर्ती र राधिका हमालको स्वर रहेको ‘पल्के भेना भाई’ ले अत्याधिक लोकप्रियता कमायो । त्यसैले त गीत सार्बजनिक भएको लामो समयसम्म अर्थात् बर्षौसम्म पनि यो गीत तीज नजिकिएसँगै गुञ्जिहाल्छ । हालकी राष्ट्रिय सभा सदस्य समेत रहेकी गायिका कोमल वलीले धेरै समय अगाडी ‘पोइला जान पाम’ बोलको गीत सबैले गुनगुनाउने गीत बन्यो । त्यहि गीतका कारण वली अहिलेसम्म पनि चर्चामा रहिन र त्यसपछि बजारमा ल्याएका अन्य गीतहरु पनि चल्न थाले ।

यसरी पहिलाका तीज गीतहरु सदावहार गुञ्जने र लोकप्रिय भए भन्दै गर्दा पछिल्लो समय नयाँ कलाकारहरुले बजारमा ल्याएका गीतहरु लोकप्रिय भएनन् भन्न खोजेको भने पटक्कै होईन् । लोकप्रिय हुने र चर्चा कमाउने नाममा तीजका गीतमा विकृती ल्याउनु भने कदापी राम्रो होईन् । यसो भन्दै गर्दा पछिल्ला तीजमा मौलिकता हरायो, सबै गीत विकृती उन्मुख भएका होईनन् केही कलाकारका थोरै गीतहरुले मात्र मौलिकता अपनाए पनि बाँकी देखावटी र लोकप्रिय हुने वाहानामा विकृती वढेको भने पक्कै पनि हो ।

त्यसैले आम दर्शक श्रोताले पनि तीजका गीतमा बास्तविक मौलिकता, भाका र मन छुने शब्दको प्रयोग गरेका सिर्जनालाई प्रोत्साहन गर्ने र सर्जकहरुले पनि त्यसै अनुरुप आफ्ना सिर्जनाहरु अगाडी वढाउने हो भने तीजका गीतको मौलिकता कायमै रहँला । यदि यसो हुन नसकेको खण्डमा यहि अनुसार तीजका गीतमा विकृती वढ्दै जाने हो भने हाम्रो मौलिकता, भाका र शैली हराएर जानेमा शंका उत्पन्न हुन थालेको छ ।

 

नयाँ पुस्ता बाट

About admin

Check Also

(ताेक्मे) विल्सनकी गर्लफ्रेण्ड | नेवारी देखि नेपाली भाषा फरर, तर मंगलसुत्रलाई भनिन् कामासुत्र।भिडियाे

(ताेक्मे) विल्सनकी गर्लफ्रेण्ड | नेवारी देखि नेपाली भाषा फरर, तर मंगलसुत्रलाई भनिन् कामासुत्र।भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *